नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको खुसियाली मनाउँदै उनीहरुले विधेयकको प्रतिलिपि समेत जलाएका छन् ।
विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका महासचिव समिक बडालले नागरिकता बजारमा बेच्ने चिज नभएको बताएका छन् । नागरिकतालाई गठबन्धन सरकारले आफ्नो सत्ता र कुर्सीसँग साटेको आरोप लगाए ।
‘मुलुकको नागरिकता मुलुक कै जनताले पाउनु पर्छ । यो हाम्रो गौरवको विषय हो । नागरिकता बजारमा बेच्ने चिज हैन । राष्ट्रघाती नागरिकता विधेयकविरुद्ध विरोध गरिरहेका थियौं । यो गठबन्धन सरकार आफ्नो सत्ताको कुर्सीसँग नागरिकता विधेयकलाई अगाडि सारेर गैर नागरिकलाई नेपालको नागरिक बनाउने र मुलुकभन्दा बाहिर रहने नागरिकता दिने जुन राष्ट्रघाती कदम यो सरकारले उठाएको थियो आज सम्माननीय राष्ट्रपतिले आज जनताको आवाज सुन्नु भएको छ । राष्ट्रपतिलाई हामी धन्यवाद दिन चाहान्छौँ,’ उनले भने ।
प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’ ‘नागरिक विधेयक जलाउँछौँ’ ‘गठबन्धनको पारले दुःख पायो साराले’ जस्ता नारा लगाएका थिए । दोस्रोपटक संसदबाट पारित भएर २० भदौमा शीतल निवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातबाट सकिएको हो ।
राष्ट्रपतिको कदमको समर्थन गर्दै एमालेनिकट अनेरास्ववियु सडकमा, हेर्नुस् तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।