तमलोपाले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा
फाइल तस्बिर

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रूपमा उल्लेख रहे पनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लङ्घन गरेको भन्दै तमलोपाले उनको राजीनामा मागेको हो । 

तमलोपा अध्यक्ष लालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक र शृङ्गारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गर्दै वीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको देखिन्छ । यो आफ्नै देशको जनता विरुद्धको विभेद मानसिकताले गरिएको षडयन्त्र हो । हामी राष्ट्रपति विद्या भण्डारीको संविधानको घोर उल्लंघनको यस कार्यको भर्त्सना गर्दछौँ ।’

‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेकाेमा र सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो, ’उनले भने, ‘यस अनुरूप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सोको घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको सम्पुष्टि गर्नुपर्ने आग्रह गर्दछौँ ।’

‘संविधानको घोर उल्लङ्घन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामी राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गर्दछौँ’–विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १३:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया