डोल्पामा एकै नदीबाट दुई ठूला जलविद्युत् आयोजना : सडक निर्माणको ढिलाइले आयोजनाको काममा समस्या

१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । 

एउटै नदीबाट दुईवटा विद्युत् आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको हो । जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत् आयोजना ‘जलगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ । नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबाट ८२.३ मेगावाट विद्युत् उत्पादन हुने जगदुल्ला जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

डिपिआरको काम सम्पन्न भएपछि १२२ भन्दा माथि विद्युत् उत्पादन हुने सम्भावनासमेत देखिएको अधिकारीले जानकारी दिए । जगदुल्लाको अहिले मुआब्जा ,विद्युत् खरिद बिक्री (पिपिए), लगायतका कामहरू सम्पन्न भइसकेका छन् । विभिन्न निकायबाट सेयर लगानी गरेबाफतको रकमसमेत भुक्तानीको काम चलिरहेको छ ।

विद्युत् उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८०० कित्ता सेयर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टले एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता सेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता सेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार ५०० सेयर र स्थानीय तह (जलदुल्ला, मुड्केचुला) २३ लाख ४३ हजार सेयर गरी जम्मा ६३ लाख ४९ हजार ३ सय कित्ता सेयरबाफत ६३ करोड ४९ लाख ३ हजार रुपैयाँको सेयरबाफत रकम कम्पनीले लिइरहेको छ । 

विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अति विपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।



विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको ५/५ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवर्द्धनात्मक सेयर रहेको छ ।

यही आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए । अधिकांश ठाउँबाट सेयरबाफतको रकम आइसकेको र केही ठाउँको मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । 



१०६ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना निर्माणको पूर्व तयारी गरिरहेको कम्पनीले १२२ मेगावाटको जगदुल्ला ’ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले एक सूचना निकालेर जगदुल्ला–ए आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पार्नका लागि बोलपत्र २१ अगष्ट २०२२ मा निकालेर ९ महिनामा प्रतिवेदन तयार पार्नेगरी बोलपत्र आह्वान गरिएको  कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । उनका अनुसार क्यासकेडका रूपमा निर्माण गर्न लागिएको यो आयोजनाको विस्तृत अध्ययन भइरहेको छ।

विद्युत् प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन र डिजाइनको काम गरिरहेको छ । जसले अध्ययनको ड्राफ्ट तयार पारिसकेको छ । एक वर्षभित्र यो आयोजनाको अध्ययन सक्ने लक्ष्य छ ।

कम्पनीले जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको ८२.३ मेगावाटमा लाइसेन्स लिएको छ । तर, अध्ययनले १२२ मेगावाट बनाउन सकिने देखिएको छ । क्षमता संशोधनका लागि कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ । 

यो आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । क्यासकेड आयोजना रहेका कारण हेडवक्र्स बनाइरहनुपर्दैन । सोही कारण जगदुल्ला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङ मार्गमार्फत जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत् उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको पावर हाउस रहनेछ । आयोजनाको क्षमता संशोधनका लागि प्रस्ताव गरिएकाले लगानी कति हुने भन्ने एकिन नभएको बताइएको छ ।

आयोजना डोल्पाको जगदुल्ला नदीमा निर्माण हुनेछ । १ वर्षमा पूर्व तयारी सकेर ४ वर्षमा व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ मेगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

जगदुल्लाको पूर्व तयारीका काम हुँदै 

कम्पनीले जगदुल्ला जलविद्युत् आयोजना निर्माण अघिका पूर्व तयारीको कामहरू भइरहेको जनाएको छ । यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । एनइए इन्जिनियरिङ कम्पनीले चार वर्ष लगाएर विस्तृत अध्ययन गरेको हो । अहिले पहुँचमार्ग (एक्सेस रोड) निर्माणको काम चलिरहेको छ ।

६ महिनामा पहुँचमार्ग निर्माणको काम सक्ने योजना छ । त्यसपछि खरिदमा गएर आयोजनाको काम सुरु गर्ने तयारी छ । कम्पनीले कामदार, परामर्शदाता, अफिसका लागि भवन निर्माणको ठेक्का निकालिसकेको छ । प्राविधिक सहयोगीको रूपमा परामर्शदाता हायर गर्ने बोलपत्र आह्वान गरिसकेको छ । 

आयोजनाको ठेक्का व्यवस्थापन, कामको अनुगमन, बिडिङ डकुमेन्टलगायतको सहयोगका लागि परामर्शदाता नियुक्तलगायत कामहरू निरन्तर भइरहेका छन् । ठूलो ठेक्कामा प्राविधिक सहयोगका लागि परामर्शदाता कम्पनी अनिवार्य रुपमा राख्नुपर्छ । 

जगदुल्ला डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ । यो आयोजना सुरुमा ३०७ मेगावाट जलाशययुक्त निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । कमजोर भूगोलका कारण  क्षमता घटाएर अर्धजलाशययुक्त बनाउन लागिएको हो । यो आयोजनाका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न करिब ४५ किमिको १३२ किलोभोल्ट क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । ९ महिनामा प्रसारण लाइनको विस्तृत अध्ययन सक्ने योजना छ । 

भेरी करिडोरको जाजरकोट डोल्पा सडक निर्माण गर्ने ठेकेदारको कामलाई गति नदिँदा जलविद्युत् आयोजना निर्माणमा ढिला भएको छ । पासागाड रिम्ना सम्मा पिच गर्ने जिम्मेवारी लिएको ठेकेदार कम्पनी यती विल्डर्स प्रालिले तोकिएको समयमा काम नगर्दा समस्य हुँदै आएको । रिम्नादेखि तल्लुसम्मको सडकमा कालोपत्रेको जिम्मेवारीसमेत यही कम्पनीले लिएको छ ।   

  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १०:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया