प्रियंका गान्धीसँग किन डराइरहेछ भाजपा ?

एजेन्सी – प्रियंका गान्धी कांग्रेसको महासचिव एवं पूर्वी उत्तर प्रदेश पार्टीकोे इन्चार्ज बनेपछि भारतीय जनता पार्टीले अहिले विभिन्न प्रतिक्रिया जनाइरहेको छ । भाजपाले प्रियंका गान्धीको आगमनलाई स्वीकार्न सकेको छैन् । 

भाजपाका अनुसार मिडियाले प्रियंका गान्धीलाई जति महत्व दिएको छ, त्यति उत्साह जनतामा नभएको प्रतिक्रिया दिँदै आइरहेको छ । 

भाजपाको पूर्वी उत्तर प्रदेशलगायत अन्य राष्ट्रिय नेताको अनौपचारिक कुराकानीबाट प्रियंकाको राजनीतिक यात्रालाई लिएर भाजपा नेताको आधिकारिक प्रतिक्रिया र भित्रको अवस्था फरक रहेको बुझिन्छ। प्रियंका गान्धीको आगमनले भाजपामा भयको अवस्था सिर्जना गरेको छ । 

प्रियंका राजनीतिमा पहिले नै सक्रिय भएको भए भाजपालाई धेरै नोक्सान पुग्न सक्ने पार्टीका नेताहरु स्वीकार्छन् । पार्टीमा यो माहोल विशेष गरी नरेन्द्र मोदी गुजरातको मुख्य मन्त्री हुँदाको समयमा भएको भए ठूलै घाटा पुग्ने थियो ।

अहिले पनि प्रियंकाको राजनीतिक उपस्थितिले सत्ताधारी भाजपामा डरको माहोल सिर्जना भएको छ । प्रियंका गान्धीबाट भाजपा नेतालाई विभिन्न किसिमका डर छन् । 

भाजपाका एक वरिष्ठ नेता भन्छन् ‘भाजपाका कतिपय नेतालाई लाग्छ प्रियंका गान्धीको राजनीतिक सक्रियताले राज्यमा पहिलादेखि नै बलिया रहेका क्षेत्रीय दललाई त्यति असर पर्दैन् । किनकी यी क्षेत्रीय दलले स्थानीय मुद्दामा काम गरिरहेका छन् । तर राष्ट्रिय पार्टीको सवालमा कतिपय राज्यमा भाजपालाई क्षती पुग्न सक्छ ।



प्रियंकाको उपस्थितिले अन्य दललाई खासै प्रभाव नपरेपनि भाजपालाई ठूलै प्रभाव पर्ने देखिएको छ । प्रियंकाले अमित शाह र मोदीविरुद्ध वैचारिक माहोल बनाउन सक्ने धेरै बाटाहरु छन्, जुन राहुल गान्धी भन्दा पनि अगाडि जाने शैलीको भयो भने भाजपालाई ठूलै झट्का पुग्छ ।’ 

भाजपामा लामो समय विभिन्न सांगठनिक जिम्मेवारी निभाइसकेका एक नेता भन्छन्, ‘नरेन्द्र मोदी र अमित शाहको नेतृत्व रहेको भाजपाले कांग्रेसलाई पटक–पटक राजनीतिक आक्रमण गरेको थियो । पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई ‘मौन मोहन’, सोनिया गान्धीलाई ‘इटालियन बहु’ र राहुल गान्धीलाई ‘पप्पु’ जस्ता होच्याउने किसिमका नाम राखेको भाजपाले प्रियंकाका पति रोवर्ट वाड्रालाई पनि हमला गरेको थियो तर प्रियंका गान्धी राजनीतिमा सक्रिय नभएकाले उनको विरुद्ध यस्ता कुनै आक्रमण भएका थिएनन् ।’



रायबरेलीमा सोनिया गान्धीले पहिलो पटक चुनाव लडिरहँदा प्रियंका गान्धीले एक भावनात्मक अपिल गरिन् जसका कारण अरुण नेहरु चौथो स्थानमा रहन पुगे । भारतीय राजनीतिमा यसलाई कसैले पनि विर्सन सक्दैन् ।

यस्तै मोदी वा अमित शाहले कुनै पनि तरिकाले प्रियंका गान्धीविरुद्ध केही आरोप लगाए प्रियंकाले यसरी नै ‘इमोसनल केस’ बनाउने उच्च सम्भावना छ, जसका कारण जनता प्रियंकाको पक्ष र भाजपाको विपक्षमा उभिन सक्ने भाजपाका एक वरिष्ठ नेता बताउँछन् । 

भाजपामा प्रियंका गान्धीको विषयमा अर्को डर पनि रहेको छ । अब भाजपाले रोबर्ट वाड्राको मुद्दा पहिला जस्तो अहिले उठाउन सक्दैन् । फेरि यो मुद्दा उठाए प्रियंका गान्धीले पाँच वर्ष केन्द्र र हरियाणामा भाजपा सरकार हुँदा वाड्राविरुद्ध कारबाही किन गर्न सकेन भनेर प्रतिकार गर्नेछिन् । पतिको मुद्दा आफूलाई निशाना बनाएर उठाएको भन्न पनि उनी सक्छिन् । 

‘पीडित’ को कार्ड लिएर राजनीतिक लाभ लिन नरेन्द्र मोदी माहिर रहेको कतिपयको भनाई छ । यस्तो प्रयास प्रियंकाले पनि गर्न सक्ने अनुमान धेरैको छ । नरेन्द्र मोदी बारम्बार आफू गरिबको छोरा भएको भन्दै यसबाट पनि राजनीतिक लाभ लिने प्रयास गरिरहन्छन् । सन् २००२ को दंगा मुद्दा बनाएर उनले राजनीतिक आक्रमण गरिरहे, जसमा गरीब र सामान्य हैसियतका कांग्रेसीहरु मोदीको निशाना बने । 

मणिशंकर अय्यर जस्ता नेताले कांग्रेस अधिवेशनमा आएर मोदीले चिया बेच्न सक्छन्, मोदी निकै ‘निच’ मानिस हुन् भनेर होच्याउन गर्छन्, नरेन्द्र मोदीले यस्ता अभिव्यक्तिलाई लिएर फाइदा उठाउने सम्भावना अधिक छ । तर प्रियंका गान्धीसँग यस्तो राजनीतिक यात्रामा गए उनीसँग आफूलाई ‘पीडित’ साबित गर्ने विषय धेरै छन् । 

आफ्ना पिताले देशका लागि बलिदान गरे, आमाले भारत आएपछि देशका लागि निरन्तर काम गरिन् र पनि उनलाई इटालियन बुहारी भनेर राजनीतिक आक्रमण गरिरहे । उनका भाइलाई राष्ट्रिय पप्पु घोषणा गरे र पतिलाई भ्रष्टाचारको आरोप लगाए र अब उनका बच्चालाई पनि भाजपाले निशाना बनाइरहेको विषय प्रियंकाले उठाउन सक्छिन्, यसमा भाजपालाई निकै डर रहेको छ । प्रियंकाले नरेन्द्र मोदी जस्तै ‘पीडित’ को खेल खेले भाजपालाई निकै क्षती पुग्ने भाजपा नेताको भनाई छ । 

वाराणसीको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रियंका उम्मेदवार बन्ने पो हुन् कि भन्ने अर्को डर भाजपालाई छ । प्रियंका गान्धी उम्मेदवार बने समाजवादी पार्टी र बहुजन समाज पार्टी उम्मेदवार नहुने बताएका छन्, जसले वाराणसीको चुनाव जित्न भाजपालाई पहिलाको जस्तो सजिलो छैन् । 

प्रियंका गान्धी मोदीको विरुद्ध मैदानमा उत्रिदाँको असर वाराणसी र पूर्वी उत्तर प्रदेशमा मात्र होइन राष्ट्रिय स्तरको राजनीतिमा पनि प्रभाव पर्ने छ । जसको डर भाजपालाई रहेको छ । 

 

  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १०:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया