हङकङमा क्यारी ल्यामको राजीनामा माग

एजेन्सी– अभियुक्तहरुलाई सुपुर्दगी गर्दै चिनियाँ मुख्य भूभाग पठाउने विधेयक स्थगित हुँदा पनि हङकङमा विरोध प्रदर्शन रोकिएको छैन । 

हङकङका सबैभन्दा बढी रुचाइएका विद्यार्थी अभियन्ता जोसुवा वङले त अब नेता क्यारी ल्यामको राजीनामा माग गरेका छन् । हिरासतबाट छुटेलगत्तै गरेको भाषणमा उनले क्यारीले अब राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् । 

सन् २०१४ को आन्दोलनबाट चिनिएका वङले हिरासतबाट छुटेलगत्तै सहरको सबैभन्दा ठूलो र्यालीलाई सम्बोधन गरेका थिए  । आइतबारको विरोध प्रदर्शनमा २० लाख मानिस सहभागी भएको आयोजकले बताएका छन् । 

अहिलेलाई सुपुर्दगी विधेयक स्थगित गरिएको भनिए पनि प्रदर्शनकारीले ल्यामले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिन थालेका छन् । 

यसअघि यो विधेयक ल्याएकोमा ल्यामले प्रदर्शनकारीहरुसँग माफी माग्दै विधेयक स्थगित गरेको बताएकी थिइन् । यो विधेयकका कारण अभियुक्तहरु चिनियाँ भूभागमा सुम्पने मात्र होइन, हङकङमा चीनको प्रभाव झन् बढ्दै गएको पनि विरोधीहरुले जनाउँदै आएका छन् । 

हङकङकी नेतृ क्यारी ल्याम



वङले पनि ल्यामको राजीनामा मागेका हुन् । उनलाई सन् २०१७ र २०१८ मा दुई छुट्टाछुट्टै सजाय सुनाइएको थियो । सन् २०१४ मा उनले नै अगुवाइ गरेको विरोध प्रदर्शन अम्ब्रेला मुभमेन्टका रुपमा पछि निकै चर्चित बनेको थियो । उनको सजाय एक महिना कम गरिएकाले उनी आइतबार मात्र जेलबाट बाहिर निस्किएका हुन् ।

‘क्यारी ल्याम अब हङकङको नेता रहिरहन सक्दिनन्,’ वङले भनेका छन्, ‘उनले माफी मागेकी छिन् तर त्यतिले मात्र पुग्दैन, उनले राजीनामा दिनुपर्छ ।’



अब वङ जेलबाट छुटेकाले हङकङमा थप प्रदर्शन हुनसक्ने अनुमान गरिएको छ । यसले गर्दा ल्याममा थप दबाब पर्ने र उनले राजीनामा दिन पर्न सक्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ । 

सन् २०१४ मा वङलगायत विद्यार्थीहरुले अगुवाइ गरेको आन्दोलनको माग चाहिँ हङकङले आफ्ना नेता आफैं छान्न पाउनु पर्छ भन्ने थियो । त्यसअघि चीनले हङकङमा निर्वाचन त हुन दिने तर आफूले पहिले उम्मेदवार छान्ने निर्णय गरेको थियो ।

त्यो आन्दोलन ७९ दिनसम्म चलेको थियो ।


  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १०:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया