इरानले फेरि अर्को ट्यांकर नियन्त्रणमा लियो, पर्सियन खाडीमा तनाव बढ्दाे

तेहरान– इरानले खाडीमा इन्धन तस्करी गरिरहेको एक विदेशी ट्यांकर नियन्त्रणमा लिएको इरानी मिडियाले बताएका छन् ।

इरानी स्टेट टिभी तथा अर्धसरकारी समाचार एजेन्सी ‘फार्स’ले आइतबार दिएका रिपोर्टअनुसार बुधबार नियन्त्रणमा लिइएको ट्यांकरका चालकदलका सात सदस्यलाई बन्दी बनाइएको छ । चालकदलका सातजना विभिन्न देशका नागरिक भएकाे बताइएकाे छ ।

रिपोर्टअनुसार, उक्त ट्यांकरले ७ लाख लिटर इन्धन बोकेको थियो । समुद्री सुरक्षामा खटिएका इरानी ‘रिभोलुसनरी गार्ड’हरुले न्यायालयको अनुमति लिएरै यो अपरेसन चलाएको बताइएको छ । 

बहराइनमा रहेको पर्सियन खाडी क्षेत्र हेर्ने अमेरिकी जलसेनाको टुकडीले भने यसबारे आफूलाई कुनै जानकारी नआएको बताएको छ । 

यसअघि, इरानले ओमनको खाडी र पर्सियन खाडीबीचको विश्वप्रसिद्ध समुद्री रणनीतिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’बाट एक बेलायती ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएको थियो । ‘समुद्री हिंसा’मा प्रयोग भएको भन्दै दुई साताअघि नियन्त्रणमा लिएको ट्यांकर उसले अझै छोडेको छैन । 

त्यसको दुई साताअघि बेलायतले जिब्राल्टर क्षेत्रबाट एक इरानी ट्यांकर नियन्त्रणमा लिएको थियो । युरोपियन युनियनले सिरियामाथि लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा सो ट्यांकर नियन्त्रणमा लिइएको थियो । 



इरान र ओमनबीचको समुद्री क्षेत्रमा पछिल्ला महिना तनाव चुलिएको छ । यो क्षेत्र तेल ढुवानी गर्ने विश्वकै महत्वपूर्ण र संवेदनशील समुद्री मार्ग भएको क्षेत्र हो । 

अमेरिकासँग त इरानको सम्बन्ध महिनौँदेखि तनावको उत्कर्षमा छ नै, पछिल्लाे घटनाक्रमले बेलायतलगायत युरोपेली मुलुकसँगको सम्बन्धमा पनि तनाव चुल्याइदिएको छ ।




  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १८:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया