प्रचण्डको स्वीकारोक्ति : म नहुँदैमा माओवादी पार्टी र विचार सकिँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा माओवादी पार्टी नसिद्धिने बताएका छन् ।  

आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । साथै, उनले निकै ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेको बताए । 

माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको उनकाे भनाइ छ ।

‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो, विचार हो । यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ । युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ’, उनले अघि भने, ‘त्यसकारण प्रचण्ड नहुँदैमा वा अर्को कोही नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुन सक्दैन ।’

लामो समयदेखि आफू पार्टीको नेतृत्वमा रहेको स्वीकार गर्दै प्रचण्डले भने, ‘म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यो मन्चबाट आम नेपाली जनतालाई सम्बोधन गर्दैगर्दा राष्ट्र र जनताप्रति सेवा गर्ने ठूलो जिम्मेवारी आएको महसुस गरेको छु ।’

उनले अघि भने, ‘अनौठो लाग्छ, यति लामो समय राजनीति उतरचढावबाट गुज्रिएर फेरि पनि सक्रिय नेतृत्वको भूमिकाका रूपमा रहँदा मलाई लाग्छ म अब अर्को भूमिकामा जान परेन र ? जस्तो लाग्छ । तर, मलाई देशको समग्र राजनीति हेर्दा हाम्रो पार्टीको रूपान्तरणको ऐतिहासिक आवश्यकतालाई हेर्दा राजनीतिलाई स्थिरताको एउटा बिन्दुमा, विकास र समृद्धिको प्रक्रियामा लैजाने आवश्यकता र यो पार्टीलाई अझ सुदृढ बनाउने आवश्यकता हेर्दा मैले अझै मिहिनेत गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’



कतिपयले भन्छन् प्रचण्ड नहुने हो भने यो पार्टी के होला ? भन्ने गरेको बताउँदै उनले भनेका छन्, ‘अस्ति मैले महाधिवेशन उद्घाटन हुनुअघि दुई चारवटा अन्तर्वार्ता दिएको थिएँ । मैले भनेको छु, यो प्रश्न गलत छ । प्रचण्ड नभए माओवादी पार्टी के हुन्छ ? भन्ने प्रश्न नै गलत छ।’

प्रचण्डले आफ्ना लागि यो कार्यकाल अन्तिम अवसर र चुनौतीको रूपमा लिएको पनि बताए ।




  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया