प्रचण्डले नेतृत्वमा आफ्ना लागि अन्तिम अवसर भन्नुका ४ कारण
फरकधार / १९ पुस, २०७८

नेकपा माओवादी केन्द्रले आफ्नो अध्यक्षमा फेरि पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित गरेको छ । योसँगै लगातार ३ दशक नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रचण्ड आएका छन् । २०४६ सालमा नेकपा मसालको महामन्त्री भए पछि प्रचण्डले यो पार्टीको नेतृत्व सम्हाल्न थालेका हुन् । त्यसपछि पार्टीमा विभाजन हुँदा होस् या केही वर्षअघि नेकपा एमालेसँग एकीकरण भएर नेकपा मात्र बन्दा किन नहोस्, प्रचण्ड सधैं नेतृत्वमा रहिरहेका छन् ।



आफू फेरि अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले यसलाई नेतृत्वमा आफू आएको अन्तिम अवसरका रुपमा सम्बोधनमा बताएका छन् । ‘नेतृत्वको रुपमा मेरो लागि यो अन्तिम अवसर हुनेछ,’ अध्यक्षमा निर्वाचित भए पछि प्रचण्डले आफ्नो मन्तव्यमा भनेका छन् । 

उनले यही मन्तव्यमा आफू भए पनि नभए पनि माओवादी आन्दोलन वा पार्टी रहिरहने समेत बताएका छन् । ‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो,’ उनले भनेका छन्, ‘यो विचार हो । प्रचण्ड नहुँदैमा वा अर्को कोही नहुँदैमा माओवादी आन्दोलन सकिने भन्ने हुनै सक्दैन ।’



यतिमात्र होइन, उनले लामो समयको उतारचढावपछि फेरि आफू पार्टीको सक्रिय नेतृत्वमा आएको र यसले आफूलाई अन्तिम अवसर दिएको रुपमा पनि बताएका छन् । ‘यो पार्टीलाई अझ सुदृढ बनाउने आवश्यकता हेर्दा मैले अझै मिहनेत गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भनेका छन् ।



प्रचण्डको यो अभिव्यक्तिबाट एउटा निष्कर्ष निकाल्न सकिन्छ– ३ दशकभन्दा बढी नेतृत्वमा रहेका प्रचण्डले अब चार वर्षपछि माओवादी केन्द्रको अध्यक्षमा दाबी गर्ने सम्भावना कम छ ।

आखिर यो निष्कर्षमा किन पुगे त प्रचण्ड ? हामीले यही सेरोफेरोमा रहेर प्रचण्डको यो अभिव्यक्तिका पाँच कारणबारे विश्लेषण गरेका छौँः

 

अहिले चलेको ट्रेन्ड

पछिल्लो समय नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका लागि दुई मुख्य दाबेदार देखिए, सभापतिमा निर्वाचित शेरबहादुर देउवा र शेखर कोइराला । देउवा र कोइराला दुवैको एउटा कमन नारा थियो– अन्तिम पटकका लागि । देउवा सभापतिमा दोहोरिन चाहेकाले उनले फेरि एकपटक मात्र भन्ने नारालाई लिएका थिए । कोइरालाले चाहिँ आफ्नो नारामा नै लेखेको थिए– यस पटक, एक पटक ।

देउवा र कोइराला यो निष्कर्षमा आइपुग्नुभन्दा धेरै अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा नै गरेका थिए– अब म प्रधानमन्त्री वा अध्यक्षको उम्मेदवार होइन । 

तर, सर्वोच्चको फैसलासँगै नेकपा विभाजन भएर दुई पार्टी बने, नेकपा एमाले र नेकपा माओवादी केन्द्र । केही दिनअघि चितवन महाधिवेशनबाट फेरि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । चितवनमा पनि पार्टी संकटमा रहेकाले एक पटकका लागि ओलीलाई नै अध्यक्ष बनाउनु पर्ने भाव अगाडि ल्याइएको थियो ।

यसले के देखाउँछ भने पछिल्लो समय नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चर्किएको छ । सबै ठूला वा प्रमुख दलमा नयाँ पुस्ताका व्यक्तिको नेतृत्व आउनु पर्ने बहसले प्राथमिकता पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भए पछि राप्रपामा पुस्तान्तरण भएको चर्चा पनि चल्यो । 

पछिल्लो समय नेपाली राजनीतिमा जसरी यो ट्रेन्ड र चर्चा देखिएको छ, त्यसले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई पनि प्रभाव पक्कै पारेको हुनुपर्छ । फेरि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा प्रभाकरलगायतका नेताहरुले पनि नेतृत्वमा आउने समय कुरिरहेका छन् । पछिल्लो समय चलेको ट्रेन्ड र यी नेताहरुलाई पनि स्पेस क्रिएट गर्नका लागि प्रचण्ड तयार रहनुको विकल्प अब देखिँदैन । त्यसैले उनले यो महाधिवेशनमा अध्यक्ष निर्वाचित हुनुलाई अन्तिम अवसरका रुपमा लिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

 

राजनीतिप्रति वितृष्णा

केही समयअघि प्रचण्डले आफूलाई विरक्त लाग्न थालेको र पाए देखि आफूले राजनीति नै छोड्न सक्ने अभिव्यक्ति दिएका थिए । नेकपा माओवादी केन्द्रको महाधिवेशनअघि यसलाई राष्ट्रिय सम्मेलन भनिएको थियो । 

राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुनुभन्दा अगाडि नै उनले एक अन्तर्वार्तामा आफूले नेतृत्व छाड्न चाहे पनि साथीहरुले नदिएको अभिव्यक्ति दिएका थिए । उनले आफूले नेतृत्व छाड्न चाहेको अभिव्यक्तिलाई वितृष्णाको रुपमा चित्रण पनि गरेका थिए । 

यसले गर्दा पछिल्लो समय प्रचण्ड राजनीतिबाट बिरक्तिन थालेका हुन् कि भन्ने अनुमान गरिएको थियो । पछिल्ला महिनामा सरकारमा सहभागी भए पछि पनि प्रचण्डले बारम्बार राजनीतिबाट आफू टाढा हुन खोजेको बताइरहेका छन् । यही भाव र सोचका कारण पनि उनले आफूलाई राजनीतिबाट अलग्याउन खोजेको बुझ्न सकिन्छ । त्यसैले उनले आफ्ना लागि अबको कम्तिमा चार वर्षको नेतृत्वलाई अन्तिम अवसरका रुपमा लिएको हुनसक्ने आधार मान्न सकिन्छ ।

 

कार्यकर्ताको मन जित्न, सेन्टिमेन्टको पोलिटिक्स गर्न

पछिल्ला वर्षमा विश्वभर राजनीतिमा भावनात्मक कुरालाई प्रश्रय दिन थालिएको छ । अनि राष्ट्रियता र देशप्रेम, आफ्नो समर्पणलाई राजनीतिक मुद्दा र अजेन्डा बनाउन थालिएको छ ।

यसअघि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउँछु भनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प हुन् या धर्मको राजनीति गरेर दुई पटक भारतमा प्रधानमन्त्री भएका नरेन्द्र मोदी किन नहुन्, सबैले ‘सेन्टिमेन्ट’को राजनीतिलाई प्रश्रय दिएका छन् । यस्तै भावानात्मक कुरालाई प्रश्रय दिन खोजेका हुनसक्छन्, प्रचण्डले पनि । प्रचण्डले यसलाई अन्तिम अवसर भनेर आफू अध्यक्षमा निर्वाचित भएको कुरालाई कार्यकर्ता पंक्तिमा ठूलो विवाद नहोस् भन्ने चाहेका हुनसक्छन् ।

उनले यो महाधिवेशनमा राखेको दस्तावेज ‘२१ औं शताब्दिमा समाजवादको नेपाली बाटो’माथि पनि प्रश्नहरु नउठेका होइनन् । उनी भावुक कुरा गरेर यसरी उठेका प्रश्नहरुलाई पनि कमजोर बनाउने मनाशयमा भएको बुझ्न सकिन्छ ।

 

अन्य कम्युनिस्ट घटकलाई प्रभावित गर्न

नेकपा माओवादी केन्द्रका विभिन्न नेताहरुले पछिल्ला महिना कम्युनिस्ट विचार बोकेका पार्टीहरुलाई फेरि एकीकरण गर्ने अभियान आफूहरुले सुरु गर्ने बताइरहेका छन् । आफू अध्यक्ष वा नेतृत्वमा हुँदा नै फुटेर गएका मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायतलाई फेरि पार्टीमा ल्याउन प्रचण्डले पनि चाहिरहेका छन् । 

तर, यसअघि नेतृत्वको विषयमा नै असमझदारी बढ्दा टाढिएका हुन्, किरण, भट्टराई र विप्लव । उनीहरुलाई फेरि माओवादी केन्द्रमा ल्याउन चाहेका प्रचण्डले यसपटक आफू अन्तिमपटक नेतृत्वमा हुने बताउँदा उनीहरु पार्टीमा जोडिन सक्ने सम्भावना बढ्ने विश्लेषण माओवादी केन्द्रकै नेताहरुले गरेका छन् । 

पहिले आफूसँग रहेका र अहिले छुट्टिएका नेताहरुलाई फेरि पार्टीमा ल्याउन पनि प्रचण्डले यो अस्त्र प्रयोग गरेका हुनसक्छन् ।


  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १८:१४:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया